banner

अन्य

‘अन्तर्राष्ट्रिय साहित्य समाज रमाइलो गर्ने मञ्च होइन’

२१ साउन, काठमाडौं । प्रकाश पौडेल ‘माइला’ हाइकु कविका रूपमा चिनिन्छिन् । उनी गत साता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा निर्विरोध निर्वाचित भए ।

संसारभरि छरिएर रहेका नेपाली भाषा र साहित्यप्रेमीहरूको साझा थलो बताउने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)मा यसअघि उनी वरिष्ठ उपाध्यक्ष निर्वाचित थिए ।

संस्थामा विश्वभरिबाट दुई हजारभन्दा बढी आजीवन सदस्य रहेका छन् । जापान योकोहामामा रहेका पौडेलसँग अनलाइनखबरका निर्भीकजङ्ग रायमाझीले अनेसास र समकालीन साहित्यमाथि गरेको कुराकानीको मुख्य अंश :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष हुनुभएको छ । अबको अनेसास कस्तो हुन्छ ?

संस्थाले २९ वर्षदेखि साहित्यिक गतिविधि गर्दै संसारभरका स्रष्टाहरूलाई गोलबद्ध गर्दै आएको छ । यो निरन्तर क्रियाशील संस्था हो । संस्थाको उद्देश्य नै नेपाली भाषा साहित्य, कला र संस्कृतिको प्रबद्र्धन गर्नु हो ।

आज संसारभरि नेपाली स्रष्टाहरू अझै छरिँदै र बाक्लिँदै गएको कारण यो संस्थाको उपादेयता अझ प्रस्ट भएको छ । अध्यक्ष भएका कारण यसलाई नयाँ बनाउने भन्दा पनि संस्थाको उद्देश्यअनुरूप अघि बढ्ने योजना छ, जसले गर्दा अनेसास सबैको संस्था बन्न सक्छ ।

अनेसासको पद केवल भ्रमण र सम्बन्ध विस्तारमा मात्र प्रयोग हुन्छ भन्ने गरिन्छ, यसलाई के भन्नुहुन्छ ?

यो प्रश्न विरोधाभासजस्तो लाग्यो । अध्यक्ष वा कुनै पदाधिकारी केन्द्रीय तथा च्याप्टर स्तरका कार्यक्रममा सहभागिता जनाउनु अनिवार्यजस्तै हुन्छ । त्यसैले यो सम्बन्ध विस्तार वा भ्रमण भन्ने कुरामात्र होइन ।

विश्वभरि ४० भन्दा बढी च्याप्टरहरू निकै सक्रिय छन् । सबै देशमा कार्यक्रम भइरहेका हुन्छन् । सबैमा जान सम्भव पनि हुन्न । फेरि यस्ता भ्रमणमा संस्थाले आर्थिक व्ययभार बहन गर्ने चलन छैन । आफ्नो गोजीको पैसा हालेर साहित्यको काम गर्न हिँड्नुपर्छ ।

बरु यस्ता कार्यक्रममा केन्द्रीय पदाधिकारीहरू उपस्थित हुँदा त्यसको गरिमा फरक हुन्छ । नेपाली भाषामा लेख्ने स्रष्टाहरूलाई हौसला दिन त्यस्ता कार्यक्रममा सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्छु म । रमाइलो गर्ने मञ्च होइन हाम्रो संस्था ।

आजको अनेसास जे–जस्तो अवस्थामा छ, त्यसप्रति सन्तुष्ट हुनुहुन्छ ?

कुनै पनि संस्थामा सबै कुरा ठीक हुन्छ भन्ने हुँदैन । समयक्रम अनुसार सुधार हुनैपर्छ । मैले मात्र होइन, सबै सदस्यले संस्था कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । हामी कुनै नाफामूलक वा भविष्यमा कुनै फाइदा हुने संस्थामा छैनौं । विदेशमा बसेका कारण आफ्नो मातृभाषा र मातृभूमिको यादले सताउँदा हामीले गर्नसक्ने भनेको भाषा–साहित्यको सेवा हो ।

अनेसासका अघिल्ला निर्वाचनहरूमा निकै वादविवाद सुनिन्थे । तर, यसपटक चुपचाप निर्वाचन सम्पन्न भयो नि ?

सुरुवाती दिनमा यसपटकजस्तै सर्वसम्मत रूपमै पूर्ण कार्यसमितिहरू चयन हुन्थे । थोरै च्याप्टर थिए र आजीवन सदस्यहरू पनि निकै कम सङ्ख्यामा थिए । सक्रियरूपमा काम गरिदिने मान्छे नहुँदा संस्थाको अस्तित्व नै धरापमा पर्ने हो कि भन्ने चिन्ता थियो ।

तर समयक्रमसँगै डायस्पोरिक लेखकहरू संसारभरि फैलँदै गए । च्याप्टर र आजीवन सदस्यहरू थपिँदै गए । संस्थाको आवश्यकता र महत्त्व पनि बढ्दै गयो । यसो हुँदा पदका आकाङ्क्षीहरू पनि बढ्दै गए र निर्वाचन हुन थाल्यो । निर्वाचन भएपछि सामान्य आरोप÷प्रत्यारोप हुनु स्वाभाविक पनि हो र मानव चरित्र पनि । तर, निर्वाचनपछि सबै ठीक हुँदै गएको देखिन्छ ।

संस्थाको नाम ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ भन्ने छ । साहित्य पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय हुन्छ र ?

यसको सीधा अर्थ नेपालभित्र र बाहिरसम्म छरिएर रहेका नेपाली भाषामा लेख्ने स्रष्टाहरूको संस्था भन्ने बुझाउँछ । यसमा अन्तर्राष्ट्रिय शब्द जोड्दा यसले विस्तारको अर्थ बोकेको जस्तो लाग्छ ।

सन् १९९१ सालमा होमनाथ सुवेदीको अध्यक्षतामा अमेरिकामा यो संस्थाको स्थापना भयो । नेपालबाहिर भएका कारण यसलाई अन्तर्राष्ट्रिय भन्न सकिने आधार पनि छन् ।

मैले अन्तर्राष्ट्रिय भन्नुमा कुनै खराबी देखेको छैन । म जापानमा बसेर अध्यक्षता ग्रहण गरिरहेको छु । अमेरिकाबाट वरिष्ठ उपाध्यक्ष र महासचिव सक्रिय हुनुहुन्छ । त्यसबाहेक ४ जना उपाध्यक्षहरू विभिन्न महादेश र मुलुकबाट प्रतिनिधित्व गरिरहनुभएको छ । यस अर्थमा अन्तर्राष्ट्रिय भनिएन भनेचाहिँ यो संस्थामाथि अन्याय होला ।

अनेसाससँग जोडिएका स्रष्टाहरूको सिर्जनात्मक अवस्था कमजोर छ भन्ने गरिन्छ । तपाई यसको मूल्याङ्कन कसरी गर्नुभएको छ ?

कमजोर छ भन्ने म मान्दिनँ । किनभने यसमा जोडिनुभएका कतिपय साहित्यकार नेपालमा साहित्यकारका रूपमा स्थापित भएपछि विश्वका विभिन्न मुलुकमा पुग्नुभएको छ । कतिपयचाहिँ विदेशमा आएर कामकाजमा स्थापित भएपछि कलम चलाउन थालेका छन् ।

नेपालमा पनि हजारौं व्यक्तिहरूले कलम चलाउँछन् तर सबैको स्तरीय हुन्न । तीमध्ये ५ प्रतिशत स्रष्टाहरूले मात्रै राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल छन् । अब बाँकी ९५ प्रतिशतलाई साहित्यकार नै नमान्ने भन्ने होइन । त्यस्तै अवस्था अनेसासभित्र पनि छ । यसका आजीवन सदस्यहरू थोरै÷धेरै लेख्ने गर्नुहुन्छ । तीमध्ये केही मात्रै नेपालसहित विदेशमा पनि लोकप्रिय हुनुभएको छ ।

खासमा हाम्रो काम नै स्थापित साहित्यकारका रचनालाई अन्य भाषामा अनुवाद गर्न सकिन्छ कि भनेर प्रयास गर्ने र लेख्न प्रयासरत स्रष्टाहरूलाई लेख्न प्रेरणा दिने, उहाँहरूलाई पुस्तक प्रकाशन गर्न उत्प्रेरणा दिने हो ।

कोहीकोही लेख्न रुचाउनुहुन्न । तर, उहाँहरूमा साहित्यप्रतिको ठूलो लगाव हुन्छ । आफ्नो काम छाडेर यस्ता कार्यक्रममा रचना सुन्न र स्रष्टाहरूलाई हौसला प्रदान गर्न आउनुहुन्छ । कार्यक्रमका लागि आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गर्नुहुन्छ । हामी यस्ता व्यक्तित्वहरूलाई अझ त्यागी साहित्यकार मान्छौं । उहाँहरूकै कारण विदेशमा पनि नेपाली भाषा, साहित्य, कला र संस्कृति बाँचेको छ । लेखेका सामग्री कमजोर हुनेवित्तिकै पूरै संस्थालाई त्यस किसिमको आरोप लगाउन मिल्छ जस्तो लाग्दैन ।

अनेसासले नयाँ पुस्ता समेट्न नसकेको भन्ने आरोप स्वीकार गर्नुहुन्छ ?

अनेसासमा विश्वका कुना–कुनाबाट नयाँ पुस्ताका ऊर्जाशील युवाहरू सयौंको सङ्ख्यामा आवद्ध छन् । जति पनि नयाँ च्याप्टरहरू छन्, तीमध्ये अधिकांशमा नयाँ पुस्ताकै नेतृत्व छ । बरु पछिल्लो समय केन्द्र र च्याटप्टरको बीचमा जुन न्यानो सम्बन्ध बनेको छ, त्यसमा यस्तै उर्जाशील युवाहरूको योगदान छ । अहिले केन्द्रीय नेतृत्वमा आएको टिम अपवादबाहेक सबै युवा पुस्ताका छौं । केन्द्रमा त यस्तो अवस्था भने च्याप्टरमा त सबैजसो युवाकै हातमा छ । खासमा अनेसासलाई धानेकै युवा साहित्यकारहरूले हो ।

बोर्ड अफ ट्रस्टीमा हुनुभएका पदाधिकारीतर्फ इसारा हो भने उहाँहरू कार्यकारीमा हुनुहुन्न । वैधानिक हिसाबले पनि बोर्ड अफ ट्रस्टी आफैंमा सम्मानित पद हो । ट्रस्टी र पूर्व अध्यक्षहरूले संस्थालाई आवश्यक स्थानमा सल्लाह–सुझाव दिनुको अतिरिक्त हामीलाई गाइड पनि गर्नुहुन्छ ।

केन्द्रीय अध्यक्षको हैसियतमा तपाईंको बाटो के हुनेछ ?

सक्षम साथीहरूको एउटा टिम तयार भएको छ । मैले पटकपटक ‘अबको अनेसास, व्यवस्थित अनेसास’ भनेको छु । त्यसलाई मेरो टिमले स्वीकार गरेको छ ।

कुनै बेला संस्थामा २ सयजना आजीवन सदस्य हुनुहुन्थ्यो । स्रष्टाहरू सीमित ठाउँमा हुनुहुन्थ्यो । आज आजीवन सदस्यहरू नै २ हजारभन्दा बढी पुगिसकेका छन् । हिजोको काम गर्ने तरिका र आजको काम गर्ने तरिकामा फरक हुनुपर्छ । त्यसबाहेक बोर्ड अफ ट्रस्टी, केन्द्रीय कार्य समिति र च्याप्टरका साथीहरूले विगतमा गर्नुभएका मिहिनेतको ऐतिहासिक तथ्य खोतलेर लिपिबद्ध पनि गर्नेछु ।

ऐजेण्डा हैन, मुख्य–मुख्य योजना के–के छन्, प्रष्ट बताइदिनुस् न !

शपथ लिनेबेला मैले १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छु । यी १३ बुदामध्ये यहाँ मैले बताउन सक्ने कुरा के छ भने हाम्रो टिमले तीन किसिमले काम गर्ने योजना बनाएको छ । पहिलो हो, तत्कालै गर्ने कामहरू । दोस्रो, एक वर्षभित्र गर्ने कामहरू । तेस्रोमा दुई वर्षभित्र गर्नुपर्ने काम । यीमध्ये हामी संस्थालाई दीर्घकालीन रूपमा प्रभाव रहने काम गर्न चाहन्छौं । ती कामहरू हामी सार्वजनिक रुपमा अघि ल्याउँछौं ।

तपाईंले कामका बारेमा बताउन रुचाउनुभएन, कारण के होला ?

मलाई जापानीहरूको सङ्गतमा रहेर एउटा कुरा निकै प्रभाव परेको छ । त्यो के भने, काममा विश्वास गर । कुरा कम गर । जापानीहरू सकेसम्म कुरा गर्दैनन् । तर, कामले उनीहरू को हुन् देखाउँछन् । म पनि बोल्नुभन्दा काम गरौं भन्ने चाहन्छु ।

अर्को वर्ष वा दुई वर्षपछि तपाईंंले मलाई प्रश्न सोध्दा मैले र मेरो टिमले के–के गर्यो बताउन रमाइलो लाग्नेछ । तैपनि दुईवटा कुराचाहिँ म यहाँ भन्छु – त्यो के भने, हामी तत्कालै नेपालमा सचिवालय स्थापना गर्नेछौँ, जसले संसारभरिका साहित्यकारहरूसँग समन्वय गर्नेछ । दोस्रो, म यहाँ काम गर्न आएको हुँ । विलम्ब नगरी काम गर्नेछु । एउटा कुरा सत्य छ, अबको अनेसास व्यवस्थित र पूर्ण साहित्यिक हुनेछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्