banner

आर्थिक

अहिलेसम्म कस्तो बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको भनाइ पत्याउने हो भने कोरोना नआएको भए भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय (क्षेत्रीय) विमानस्थलबाट आजको दिनमा सिधै कतार उडान सुरु भइसकेको हुने थियो ।

कोरोना भाइरसको महामारी सुरु भएकै ६ महिना पुगेको छ । भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरेको रिर्पोटिङ अनुसार विमानस्थल आयोजनाको ९२.५ प्रतिशत भौतिक काम सम्पन्न भएको छ ।

उनका अनुसार अब बाँकी काम चिनियाँ दक्ष तथा प्राविधिक/इन्जिनियरको पर्खाइका कारण रोकिएको छ । अब उपकरण जडानका कामहरु हुनेछन् ।

उपकरण विमानस्थल निर्माण क्षेत्रमा आईसकेका छन् । तर, त्यसको जडानमा चिनियाँ प्राविधिक आउनु पर्ने तर नेपालमा विदेशी नागरिकका लागि लागेको यात्रा प्रतिवन्धका कारण उनीहरु आउन सकेका छैनन् ।

आयोजना प्रमुख अधिकारीका अनुसार ३५ जना यस्ता दक्ष कामदार तथा इन्जिनियरलाई नेपाल ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार भइसकेको छ । उता, पर्यटन मन्त्री भट्टराई पनि यो आयोजनाका लागि रोकिएको कामदार ल्याउन संकट व्यवस्थापन केन्द्रको सिफारिस माग्दै प्रस्ताव गरिसकेका छन् ।

पर्यटन मन्त्री भट्टराई भन्छन्, ‘नेपालमा निर्माणाधीन आयोजनामा काम गरिरहेका विदेशी कामदार उतै रोकिँदा हाम्रो विकास निर्माणको काम अवरुद्ध भइरहेको छ ।’ अब उनीहरुलाई नेपाल आउने अनुमति दिने तयारी छ ।

के-के निर्माण सकिए ?

विमानस्थलको मूख्य संरचना ३ हजार धावनमार्ग, ट्याक्सी-वे तथा एप्रोनको सिभिलतर्फको काम पुरा भएको छ । यी संरचनामा विद्यूतीकरणको काम भने अहिले पनि जारी रहेको आयोजना प्रमुख अधिकारीले उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माणको काम पनि पुरा भएको छ । यी संरचनामा अहिले इन्टेरियर, उपकरण जडान र फिनिसिङका काम जारी छन् ।

विमानस्थललाई सुरक्षित बनाउन तारबारले गर्ने, घेर्ने तथा नाला लगाई व्यवस्थित गर्ने काम अहिले भइरहेको छ । यस आधारमा भौतिक संरचना ९२.५ प्रतिशत पुगेको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार अब उपरकण जडानका काम बाँकी छन् । त्यसका लागि उपकरण आयोजना स्थलमा आइसकेका छन् । यसअघि लकडाउनको बीचमा यी उपकरण समेत भन्सारमा रोकिएका थिए ।

ती उपकरण जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना बनिरहेको छ । विदेशी इन्जिनियर र प्राविधिक नेपाल आइसकेपछि ती उपकरण जडान हुने उनले जानकारी दिएका छन् । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ ।

लकडाउन अवधिको भौतिक प्रगति ४.५ प्रतिशत

आयोजनाले उपलब्ध गराएको विवरणअनुसार लकडाउन सुरु भएयता भदौ २२ सम्म यो आयोजनाको भौतिक प्रगति ४.५ प्रतिशतले वृद्धि भएको हो । आयोजनामा लकडाउनकै बीचमा समेत २९ चिनियाँ नागरिकसहित २७५ जना कामदारले निरन्तर काम गरेका थिए । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरपर खाली स्थानमा माटो भर्ने काम समेत यही बीचमा सम्पन्न भएको छ ।

टर्मिनल भवनमा इन्टेरियरका काम पनि यही अवधिमा सुरु भएको उनले जानकारी दिए । उनका अनुसार अब कन्भेयर बेल्ट जडान, विद्यूतीय सामग्री र सूचना प्रविधिसँग सम्बन्धित उपकरण जडानको काम प्राविधिक आइसकेपछि प्रारम्भ हुने भएको छ ।

यो आयोजना डिसेम्बर २०१७ मै सम्पन्न हुने गरी डिसेम्बर २०१४ बाट शुरु भएको हो । तर, त्यो अवधिमा ठेकेदार र पेटी ठेकेदारको झगडा, नदीजन्य निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दीको असर समेतो कारण देखाउँदै आयोजनाको म्याद थपिँदै आएको छ ।

गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । उपकरण जडानसहित दोस्रो चरणको काम भने एरोनटिकल रेडियो अफ थाइल्याण्डबाट भइरहेको छ ।

यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहूलीयतपूर्ण ऋण सहयोग रहेको छ । यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ । तर, जग्गा अधिग्रहणका क्रममा भने यो विमानस्थलमा ठूलो रकम लगानी भइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्