banner

ताजा समाचार

अहिले एक दर्जन सांसद संवादमा हुनुहुन्छ: प्रचण्ड-माधव

prachand-madhav

1 47 total views, 1 1 views today

यनयस मिडिया

फागुन १४ काठमाडौँ-नेकपाका दुवै समूहले नयाँ सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग प्रारम्भिक वार्ताहरू अघि बढाएका छन् । नयाँ सरकारका लागि निर्णायक हिस्सेदार कांग्रेस भने स्पष्ट भइसकेको छैन ।

बुधबार प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई निवासमै पुगेर सहकार्यको प्रस्ताव राखेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार जनता समाजवादी पार्टीलाई पनि त्यस्तै प्रस्ताव राखेका छन् ।

तर, नेकपा कानुनी रूपमा विभाजित भएको हो कि होइन भन्ने निर्वाचन आयोगले स्पष्ट नगरेकाले कांग्रेस र जसपा दुवैले सत्तासमीकरणबारे निर्णायक संवाद गर्न मानेका छैनन् ।


‘सर्वोच्च अदालतको फैसलापछि हाम्रा दुवै अध्यक्षले सार्वजनिक रूपमै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश दिइसक्नुभएको छ,’ प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले कांग्रेस सभापति र जसपाका नेताहरूसँग अब कसरी जान सकिन्छ भन्ने सबै विषयमा छलफल गरेर जानका लागि प्रारम्भिक चरणको कुराकानी गर्नुभएको हो ।’

देउवासँगको छलफललगत्तै नेकपा कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड र नेपालले देउवासँगको भेटको विषयवस्तुबारे संक्षिप्त ‘ब्रिफिङ’ गरेका थिए ।

प्रचण्ड र नेपालले सरकार गठनलगायत समग्र विषयमा खुला ढंगले सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरिएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिएर आत्मालोचना गरेको अवस्थामा भने पुनः पार्टी एकता गरेर जान सकिने प्रचण्ड–नेपाल समूहको निष्कर्ष छ । ‘ओलीले पार्टी र जनमतमाथि अपमान गर्नुभएको हो, उहाँले माफी मागेमा पार्टी एकता हुन सक्छ, जिम्मेवारी पार्टीले तय गरेअनुसार हुन्छ भन्ने हाम्रो मत छ,’ भुसालले भने । यसका लागि ओलीले प्रधानमन्त्रीबाट अविलम्ब राजीनामा दिनुपर्ने सो समूहको माग छ ।


उता ओली पक्षले बुधबारको स्थायी कमिटी बैठकले राजीनामा नदिने, बरु संसद्मै अविश्वासको प्रस्ताव सामना गर्ने नीति तय गरेको छ । त्यसैले तत्कालका लागि संसदीय दलमा बहुमत सुनिश्चित गर्ने रणनीति प्रचण्ड–नेपाल समूहको छ ।
प्रचण्ड–नेपालसहित शीर्ष तहका नेताहरूले ओली समूहमा रहेका सांसदसँग सम्पर्क बढाएका छन् ।

ओलीतर्फका कम्तीमा एक दर्जन सांसदले समूह हेरफेर गर्न सक्ने विश्लेषणसहित उनीहरूले छलफल अघि बढाएका हुन् ।

प्रचण्ड–नेपाल समूहमा रहेका सांसद झपट रावलले अर्को समूहमा रहेका कम्तीमा एक दर्जन सांसद सर्वोच्च अदालतको फैसलापछि समूह परिवर्तनका लागि सम्पर्कमा रहेको दाबी गरे ।

‘अहिले एक दर्जन सांसद संवादमा हुनुहुन्छ, हाम्रो संख्या अझै बढाउने प्रयास भइरहेको छ,’ उनले भने । 

फुटअघि नेकपाका एक सय ७४ सांसद रहेकोमा प्रचण्ड–नेपालतिर ८८ र ओलीतिर ८३ सांसद अहिलेसम्म प्रस्ट खुलेका छन् । सभामुख अग्नि सापकोटाको मत पक्ष–विपक्षमा बराबरी हुँदा मात्र निर्णायक हुन्छ । लालबाबु पण्डित कतै खुलेका छैनन् भने समानुपातिकबाट निर्वाचित सांसद सानु शिवाको निधन भएको छ ।


नेकपाको ओली समूहले प्रधानमन्त्रीले संसद् बैठकको सामना गरेर अघि बढ्ने नीति अख्तियार गरेको छ । अविश्वासको प्रस्ताव पास भएको अवस्थामा भने प्रमुख प्रतिपक्षी कांग्रेससँग शक्ति बाँडफाँड गरेर गठबन्धन बनाउने प्राथमिकताअनुसार प्रधानमन्त्री ओली निरन्तर सभापति शेरबहादुर देउवासँग सम्पर्कमा छन् । 

अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रधानमन्त्रीको उम्मेदवारसमेत पेस गर्नुपर्ने भएकाले प्रचण्ड वा नेपालको नाम पेस भए कांग्रेसले साथ नदिने बुझाइमा ओली समूह छ । तत्कालका लागि आफ्ना सांसद संख्या जोगाउने र सकेसम्म अर्को समूहका सांसदलाई आकर्षित गरेर बहुमत जुटाउने कोसिसमा ओली समूह छ ।


निर्वाचन आयोगले आधिकारिकतासम्बन्धी निर्णय नदिएसम्म कांग्रेसले प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्ने सम्भावना नरहेकाले अविश्वासको प्रस्ताव फेल गराउन सक्दा सरकार टिकाउन सकिने बुझाइमा समेत छ । तर, ओलीसँग सहकार्य गर्नेमा कांग्रेसमा शेरबहादुर देउवाबाहेक अरू धेरै नेता सहमत छैनन् ।

ओली समूहमा रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने अहिल्यै सरकार गठनबारे कसरी अघि बढ्ने भन्ने विषयमा कुनै सोच नबनाएको प्रस्ट्याए ।

‘हामी सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने र अहिलेको सन्दर्भमा सबै दलसँग छलफल र परामर्श गर्ने पक्षमा छौँ,’ नेम्वाङले भने, ‘संसद् बैठक बोलाइएपछि दलहरूसँगको छलफलका आधारमा त्यहीँबाट कसरी अघि बढ्ने भन्ने कुरा तय हुन्छ ।’ 

सर्वोच्चले मंगलबार संसद् पुन:स्थापना गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश दिएको थियो । त्यसअनुसार सरकारले राष्ट्रपतिसमक्ष बैठक बोलाउन सिफारिस गरेपछि नयाँ ढंगबाट छलफल अघि बढाउने ओली समूहको तयारी छ ।

 

                                                          ⇓ सेयर गर्नुहोस ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्