banner

विचार

कामरेड प्रचन्ड ! प्लिज, कार्यकारी हुनोस् !

विगत २५ वर्ष (एक चौथाइ शताब्दी) देखि मिडियाद्वारा नेपाली राजनीतिको मियो मानिदै आइनु भएका र जुनसुकै (±) रूपमा भए पनि चर्चाको शिखर चुम्नु भएका कामरेड प्रचन्ड !, सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन सकिने गरी विश्वकै लागि व्यवहारिक र प्रायोगिक रूपमै नयाँ डिस्कोर्स पस्कनु भएका र आफैले आफ्ना तर्फबाट एकल र चमत्कारिक निर्णय गर्दै अनेक उतार चढावबीच पार्टी एकीकरणसम्म गर्न योगदान दिनुभएका आदरणीय कामरेड प्रचन्ड, पार्टी एकताको रेल एकीकरणको जंक्सनमा नपुग्दै स्थिरताको जनादेश दिएका जनताको मुटु कुटुकुटु खाने गरी आफैले राखेका सहमतिको साहित्य बिर्सेर कसको परिबन्दमा परे झैँ गरेर बहुमतको गणितका चालिसा किन घोकि रहनुभएको होला ?

आफू तिस वर्षभन्दा बढी पार्टी अध्यक्ष र त्यसै अवधिमा दुईदुईपटक प्रधानमन्त्री हुँदा एक व्यक्ति अनेक पदको विधि र पद्धतिलाई भुसुक्कै बिर्सेर हो वा कुनै स्वार्थी झुन्डको चक्रव्युहमा परेर हो, कार्यकारी अध्यक्ष कामरेड प्रचन्डले ‘विधि र पद्धति’ जस्तो गहन विषयलाई ‘प्रधानमन्त्रीको राजीनामाको पर्यायवाची’ शब्द बनाउनेहरूका पछि लाग्दै पार्टीभित्र किन विग्रहको मन्दविष छर्कँदै हुनुहुन्छ ?हेपाहा छिमेकीहरूले मिचेको साँधसिमाना आफ्ना नाममा नामसारी गराई पार्टी र आम जनताको चाहना पूरा गर्ने इतिहासकै सर्वाधिक हिम्मतदार प्रधानमन्त्रीलाई कामै गर्न नदिनेहरूका टोलभित्र छिरेर आफैले त्यत्रो त्याग गरेर एकीकरण गरेको पार्टीलाई ल्याङल्याङवादीहरूका कुण्ठाका भट्टीमा किन आफ्नो निर्णयक्षमता खरानी बनाइरहनु भएको छ ? पार्टी एकीकरणमा कामरेड ओलीसँगै एकल र बोल्ड निर्णय मार्फत तत्कालीन घिनलाग्दो सत्ता समीकरणको हैजाबाट हैरान भएको मुलुकलाई शान्ति, स्थिरता र समृद्धि दिने गरी २०७४ सालको चुनावमा जनता सामु स्थिरताको शपथ खानु भएका, र एक जमानामा लालसत्ताका पर्याय बन्नु भएका कामरेड प्रचन्ड कुण्ठै कुण्ठा भरिएका झुन्डहरूको नमिल्ने कालो गणित बोकेर अस्थिरता निम्त्याउने गरी जनताका सपना निमोठ्ने गरी किन लल्लहविल्लह गरिरहनु भएको छ !

कामरेड प्रचन्ड ! तपाईँ नेकपाको कार्यकारी अध्यक्ष हुनुहुन्छ । तपाईँले सम्झिरहनु पर्ने कुरो के हो भने एकीकरणका दुई घटकमध्येको एक घटकको तर्फबाट तपाईँ अध्यक्ष हुनुभएको हो । आफू जुन घटकको प्रतिनिधित्व गर्दै कार्यकारी अध्यक्षको आसनमा विराजमान हुनुहुन्छ, उक्त घटक अर्को घटकका अध्यक्षबीचको सहमतिबाट सहमतिकै महाधिवेशन सम्मको यात्रा गर्ने सहमतिबाट तपाईँलाई कुन स्वार्थी तत्वले बहुमतको ललिपप देखाई विचलित तुल्याउँदै छ र तपाईँ कसरी जानी वा नजानी त्यही तत्वको माखेसांलोमा जेलिनुभई संवेदनाशून्यताको स्थिति तपाईँमा कसरी सिर्जना भइरहेछ ?

बन्दुकबाट सत्ता प्राप्तिको अर्जुन दृष्टि लिएको भए पनि संसदीय लोकतन्त्रकै माली गाईको पुच्छर समातेर जनयुद्धको भारी बिसाउने क्रममा तर्न लागेको शान्ति प्रक्रियाको वैतरिणी पूरै रूपमा अझै कहाँ पो तरिएको छ र कामरेड ? त्यति ठूलो विद्रोहलाई बिसाउने विचित्र क्षमता भएका आफू जुन कक्षामा जे पढ्न र कोर्स पूरा गर्न भर्ना भएको हो त्यो कक्षा नै बङ्क गरेर अर्कै कक्षामा गएर मनोमानी तरिकाले बस्न मिल्छ र कामरेड ! नत्र यत्रो परिवर्तनको लौहपुरुष हुनुपर्ने कामरेड किन आज लालुपाते झैँ फुरफुर नाचिरहनु भएको छ ? उत्तर नमिल्ने यक्षप्रश्न अहिले जटिल रूपमा तेर्सिएको छ ।

कामरेड प्रचन्ड ! तपाई कार्यकारी अध्यक्ष हुनुहुन्छ त्यसैले सरकार गिराउने बेकारका कुरा होइन सरकारको प्रतिरक्षा गर्ने कार्यकारी कुरा गर्नुस् । तपाईँ सच्चा अर्थमा कार्यकारी हुनुस् । उही पार्टीका कार्यकारी अध्यक्षले आफ्नै पार्टीको सरकारको राजीनामा माग्ने काम कार्यकारी पटक्कै होइन भन्ने गोज्याङ्ग्राले पनि बुझ्ने कुरो हो भने तपाईँले त नबुझ्ने कुरै भएन । कार्यकारी शब्दले पनि सक्रियतासाथ कार्य गर्ने भन्ने अर्थ नै वहन गर्दछ । कामरेड प्रचन्ड नेकपाको कार्यकारी बन्नु भएपछि नेकपाको गहन जिम्मेवारी वहन गर्नु भए पछि नेकपा र नेकपाको सरकारको भलो र हित हुने कार्य गर्ने जिम्मेवारी प्राप्त भएको र त्यही नै कार्यकारी पदको गरिमा हो भन्ने यहाँलाई थाहा नहुने कुरै भएन !

कामरेड प्रचन्ड ! राजनैतिक परिवर्तनको लागि तपाईँका नेतृत्वमा भएको विद्रोहको पनि अहम् भूमिका रह्यो ! हो परिवर्तनका लागि युद्धमा होमिने र नेतृत्व गर्ने तमाम थिए तर इतिहासले तपाईकै नाम लिन्छ । जनयुद्धकाल र अहिलेसम्म पनि तपाईँको देवत्वकरण गर्नेहरू मनग्गे छन् । अहिले नक्सा कान्डमा पनि कसैले कसैको देवत्वकरण गरिदियो भनेर हजुरले चित्त दुखाउनु कति उपयुक्त होला ! नक्सा र नाकाबन्दीका बेला नेतृत्व जसको थियो आखिर बढी जस र श्रेय नेतृत्वकै नाममा लेखिने हो भन्ने कुरो त तपाईँ आफैले एकपल्ट पछाडि फर्केर आफैलाई हेर्नु भो भने छर्लङ्ग भै हाल्छ । उचित काम र उचित निर्णय गर्दा मूल नेतृत्वले बढी प्रशंसा प्राप्त गर्यो भन्दैमा सोही नेतृत्वलाई सराप्ने र विस्थापित गर्ने मनोविकारयुक्त कुण्ठा झिँगाको चित्त जस्तो मन भएकाहरूमा जागे पनि विशाल हृदय भएका भनिएका र युद्धको त्यत्रो नेतृत्व गर्नुभएका यहाँको मनमा किन जागिरहेछ र यहाँको चित्त केले साँघुरो पारिरहेछ !

कामरेड प्रचन्ड ! सशस्त्र विद्रोहका समयमा मुलुकले जनधनको जेजति क्षति बेहोर्यो, त्यसका कारण भएको राजनैतिक परिवर्तन र तपाईको परिवार र त्यसको नजिक प्रदक्षिण गर्नेहरूको जीवनमा आएको आर्थिक आँधीबेहरीले मात्र त्यसको क्षतिपूर्ति होला र ? राजनैतिक स्थिरता, ध्वस्त भौतिक संरचनाको यथाशीघ्र पुनर्निर्माण र तीव्र आर्थिक विकास भो भने मात्र तपाईँको नेतृत्वमा भएको विद्रोह वरदान होला अन्यथा त्यो विद्रोह अझै पनि अभिशाप रहिरहने र आम जनताका नजरमा तपाईँको नायकत्व र नेतृत्वको कुरुप अनुहार नराम्ररी ठुङ मार्न आइ पुग्ने सम्भावना पनि त्यत्तिकै रहला नि !

हुनत कुनै दिन “प्रधानमन्त्रीको राजीनामाको च्याप्टर क्लोज भैसक्यो, यो राजीनामा भन्ने कुरा जनादेश र जनताका अगाडि हामीले गरेका प्रतिवद्धताका विरुद्ध छ, यही सरकारलाई सशक्त पार्नका लागि मात्र पार्टीका कमिटी बैठक बस्नु पर्छ” भन्ने वक्तव्य यहाँका सचिवालयबाट सर्प्राइज रूपमा सम्प्रेषित भएको सुन्ने अवसर पनि आम मतदाताले प्राप्त गर्ने सम्भावना पनि त्यत्तिकै छ । मुलुकको स्थिरताका लागि कामरेड प्रचन्डको बोल्ड निर्णय क्षमता र चमत्कारी छवि कुनै बिहान यसरी प्रसारण भयो भने पनि आश्चर्य मान्नु पर्ने छैन भन्ने मलाई लाग्दछ !

रमाइँलो प्रसंग कोट्याऊँ, पहिलो संविधान सभामा दुईदुई ठाउँबाट पराजित कामरेड माधव नेपाललाई संविधान सभामा मनोनीत गर्ने उदारमना(!) कामरेड प्रचन्ड नै हुनुहुन्थ्यो ! समयान्तरमा प्रचन्डलाई नै विस्थापित गरी प्रधानमन्त्री बन्नु बनाइनु भएका माधव नेपालबाट समयक्रममा निकै धोका पाएको अनुभूत भएपछि होला, त्यतिबेला आक्रोशपूर्ण रूपमा कामरेड माधव नेपालप्रति लक्षित चर्चित कथन यस्तो थियो “ कल्पवृक्ष भनेर विश्वास गरेको त विषवृक्ष पो परेछ !”

आफ्नालाई अविश्वास र अरुलाई महाविश्वास गर्दै जाँदा कुनै व्यक्ति विशेषलाई कल्पवृक्ष र विषवृक्ष बनाउने झेली खेल खेल्दै जाँदा आफै नै कुनै दिन नेपाली राजनीतिको विषवृक्ष बन्न बेर छैन भन्नेमा कामरेड प्रचन्ड अवश्य सचेत हुनुहुन्छ होला नै ।

त्यसैले कामरेड प्रचन्ड तपाईँको कार्यकारी पदको हतियार सरकारको सिकार गर्न होइन, सरकारको सिकार गर्न खोज्नेहरुका विरुद्ध प्रतिकार गर्न तपाईँका हातमा आएको हो भन्ने राम्ररी बुझ्नुस् । कसैले उक्सायो भन्दैमा आफ्नो स्थिर सरकारका बज्रमाथि प्रहार गर्न हौसिँदा तपाईँका हातमा थमाइएको कार्यकारी हँसियाको धार भुत्ते होला, ख्याल गर्नुस् । दुरुपयोग गर्न हौस्याउने देशीविदेशी तत्व पहिचान गर्नुस् ।

र अन्त्यमा, जनताले पटक्कै पढ्न नरुचाएका र तीन वर्ष पहिलेकै चुनावमा जनताले च्यातिदिएका मोदी प्रकाशनबाट प्रकाशित ‘सांसद गणित वर्णमाला’ र ‘पार्टी गणित हिसाब किताब’ का पुराना दुई गएगुज्रेका पुस्तकमा नयाँ गाता हालेर जबर्जस्ती र अरुचिपूर्वक तपाईलाईँ पढाउन खोजिएको हो कि भने त्यस्तो कक्षा बहिष्कार गर्नुस् ! वरिपरिका स्वार्थी झुन्डहरूको घेराबाट एसो बाहिर नियालेर हेर्नुस्, जमिनका जनताको भावना बुझ्नुस् र आफ्नो नायकत्व स्खलित हुन नदिनुस् ! ——–

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्