banner

अन्य

बेसारमुनिको कथा

बेसारमुनि एकाएक नाम चलेका वैद्य थिए । उनले नजानेको कुरा केही पनि थिएन । गफ पनि उस्तै गर्थे, गफशास्त्रमा विद्यावारिधि गरेजस्तै । सबै कुरा जानेजस्तो गर्थे । पहिले कुनै बेला रातो राजनीति गरे । केही समय त विद्रोहतिर पनि लागे । चौध/पन्ध्र वर्ष जेल पनि बसे । पछिपछि रातो राजनीतिबाट ध्वाँसे राजनीति गर्न थाले । वाकपटुताको अस्त्र प्रयोग गरी राजनीति र शासनको नेतृत्व सम्हाल्न पुगे । आजकाल उनी नामुद वैद्य भएका छन् ।

एक दिनको कुरा हो, कुशासन (कुश जोड आसन) मा बसेका बेसारमुनिको जडिबुटी कारखाना अगाडि कमिसनमुनिहरु जम्मा भए । विन्तिभाउ मुद्रामा साक्षात्कार भएका कमिसनमुनिहरुलाई उनले सोधे, ‘के भइरा’छ लोकमा ?’

जवाफ आयो, ‘हे बेसारमुनि, मान्छेहरु त प्लेकार्ड बोकेर बेसार घसी सडकमै सुत्न थाले । उनीहरुको भनाइ छ– वैद्यले बेसारको मात्र कुरा गरे, पीसीआरको कुरा गरेनन्, भोकको कुरा गरेनन्, शोकको कुरा गरेनन्, स्ट्यान्ड अप कमेडीको कुरा गरे । अब हामी सहन्नौँ रोग–भोकका बेला बेसारपानीले भुलाउन खोज्ने अपराधी पो भन्न थाले ।’

एक राउण्ड हाच्छ्युँ गरेर कमिसनमुनिहरुले समयेत स्वर निकाले, ‘हरसम्भव उपाय लगाउँदा पनि चित्त बुझाउन सकिएन । उनीहरुका कुरा सुन्दासुन्दा हामी तनावमा छौँ । तोरी कतै फुलेको छैन, धानका बाला कतै झुलेका हैनन्, तर बर्खामासमा पनि सडक थामिनसक्नु पहेंलपुर हुन थाल्यो ऋषिवर । हजुर हास–परिहासमा हुनुहुन्छ । बेलाबेलामा कथा सुनाउनु हुन्छ । कहिले भैँसीका, कहिले राष्ट्रवादका कथा । सडकेहरुको मुख थुन्ने कुनै अचुक कथा सुनाउनु होस् ।’
‘त्यसोभए तिमीहरु आज के कथा सुन्न चाहन्छौ, निसंकोच भन ।’

‘हे बेसारमुनि, आज खुद हजुरको नामको कथा सुन्न आतुर छौँ । यो तामझामयुक्त दुई तिहाईको संसारको सृष्टि कसरी भयो ? हजुरको वाहीवाहीको रहस्य के हो, यस विषयमा जान्ने इच्छा छ । हजुरबाट मर्जी भए भोलिका दिनमा विलासपथ पछ्याउन हामीलाई सहज हुनेछ । हामीमाथि कृपा गर्नुहोस् । हजुरको बेसारे मुखारविन्दबाट यो कथा सुन्न पाए स्वतः भाग्यमानी हुने थियौँ ।’

तत्पश्चात् छेवैको डब्बाबाट एक फाँको बेसार बुक्याएर तातोपानीले घुटुक्क पार्दै ऋषि बोले, ‘हे मुनिहरु, मलाई लाग्दैन तिमीहरु यति धेरै लाटा छौ । मैले थाहै नपाए जस्तोगरी बसिरहँदा तिमीहरुले के–के गरिसक्यौ भन्ने सुनेजानेकै छु । हुन त कसले के–के गर्छ, कहाँ कार्पेट फेर्छ, उपचारका नाममा कसले कति कुम्ल्याउँछ, त्यो मेरो सरोकारको विषय होइन । मेरो सरोकार त सपना वितरणमा जो छ ।’

निमेषभर बिसाएर बेसारमुनि बोले, ‘पानीजहाजका सपना, हावाबाट बिजुली निकाल्ने सपना, पाइप जोडेर घर–घरमा ग्यास पु¥याउने सपना… । हे मेरा भाई हो, सपना देखाउन सिक । मोनो रेल गुडाउने सपना, कोही भोकै नमर्ने सपना, सिटामोल पाउने सपना… । अनि त्यसमा बेलाबेला तिलस्मी फुर्को जोडी देऊ ।’
फेरि डब्बाबाट अर्को फाँको बेसार बुक्याएर उनी बोल्न थाले, ‘मैले पनि सुरु सुरुमा नक्सलवादी बनेर मन जितेँ । राष्ट्रवादको जामा लगाएर महाकालीलाई अरुको जिम्मा लगाएँ । परिवर्तनका बेला सिन्को नभाँचे पनि, बयलगाढाको यात्राले पाताल पुगिन्न भने पनि, नाकाबन्दीका बेला चर्कोचर्को फुर्ति लाउनाले सबैतिर मेरो जयजयकार गरिन थाल्यो । परिणामस्वरुप आज दुई तिहाईको सृष्टि फलिफाप भएको छ ।’

रित्तिन लागेको बेसारको डब्बा हातमा लिएर ऋषि बोले, ‘एक चित्त भई सुन, अब मलाई सपनाका कुरा गर्नु छैन । म मात्र स्वस्थ रहेर हुन्न, सबैलाई स्वस्थ र निरोगी नेपाल बनाउनु मेरो कर्तव्य हो । संसारले पत्ता नलगाएको कुरा मैले पत्ता लगाएको छु । पञ्चतत्वको खोज गरेको छु । मेरा पञ्चतत्वमा जल, तेज, पृथ्वी, वायु र आकाश होइन, मेथी, बेसार, अदुवा, ज्वानो र हिमालबाट ठोक्किएर आएको चिसो हावा छन् । यिनीमध्ये धेरै महत्व बेसारको छ । बेसारको यही महिमाबाट मैले बेसारमुनिको उपाधि धारण गरेको हुँ । म स्वयम् पनि आजसम्म यही बेसारको उपचारले हट्टकट्ट छु । मेरै बेसारको प्रभावले सर्वत्र हरियो हुनुपर्ने वर्षा ऋतु पनि पहेंलो भएको छ । दश अर्बको लगानी बेसारमै सकिएको छ । बेसारकै चमत्कारले गर्दा नेपालमा अहिलेसम्म ५७–५८ जनाबाहेक कोही मरेका छैनन् । बेसार पानी खाएर हाच्छ्युँ गर्न जानेका भए ती पनि मर्नसक्ने थिएनन् । तीमध्ये पनि कोही निमोनियाले होला, कोही पेट दुखेर होला, कोही मुटुका बिरामी थिए होलान् । ती त त्यसै जाने खाले मान्छे हुन्, कोरोनाले त छोएको मात्रै हो । कतिपयले तातोपानीसँग खाने बेसार शरीरमा घसेर मेरो कुरामा मजाक उडाउँदै छन् अरे । उनीहरुलाई भनिदेऊ– अब घसेको बेसारको कर तिर्ने समय आएको छ ।’

हल्लाउँदै गरेको बेसारको डब्बालाई भुईमा थचार्दै ऋषि बोले, ‘हे मुनि हो, तिमीहरु चाहिँ एकाग्र मनले बेसार पानी खाऊ, भोको दुनियाँ तर्सने गरी हाच्छ्युँ गर, यो साउनमा मात्र होइन, भदौ उता पनि बेसारपानी खाँदै, हाच्छ्युँ गर्दै जाऊ । वाफ लिन नबिर्स । अरुले के भन्छन्, त्यसको पछि नलाग ।’

डब्बामा बचेखुचेको बेसारको अन्तिम फाँको मारेर बेसारमुनि बोले, ‘हे कमिसनमुनि हो, आज गाईजात्राको दिन हो । यस्तो पवित्र दिनमा पनि आफूले मात्र बेसार खान परेकोमा म घोर दुःखी छु । यस निम्ति म आफ्नै अघोर निन्दा गर्छु । किनभने, यसमा मेरो एक्लौटी गल्ती छ ।’

रित्तो डिब्बा घुँइकाउँदै बेसार ऋषि बोले, ‘मैले जति बेसार विज्ञापन गरेँ, त्यति त गर्नै हुँदैनथ्यो । अति गरेपछि खती नै हुन्छ । आज देशमा बेसारको जुन अभाव छ, त्यसको दोष म कालाबजारी भाईहरुमाथि थोपर्न चाहन्न, एकमुष्ट जिम्मेवारी आफैं लिन्छु । त्यसो भन्दैमा तिमीहरु बेसारविहीन छौ भन्ने किमार्थ होइन । तिमीहरु कतिसम्म हरामी छौ भन्ने कुरा लोक जान्दछ भने मलाई थाहा नहुने कुरै भएन । देश गुनाको भेष, गुरु अनुसारको चेला त्यसै भनेको होइन । हे मेरा प्यारा कमिसनमुनि हो, अहिलेलाई उठ । आ–आफ्नो खेलखोरमा संकलित बेसार खाऊ, क–कसलाई कति घस्न पर्ने हो घस । अझै ३० महिना डल्लै छ ।’

बेसारमुनिले अन्त्यमा जोडदार हाच्छ्युँ गरेर कथा समापन गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्