banner

खेलकुद

सन्दीप लामिछाने ट्रिनिडाड एण्ड टोबागो जाँदै, सीपीएल खेल्न उत्साहित

 

१५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड एण्ड टोबागो जाँदैछन् ।

उनी कोरियन एअरको चार्टर्ड फ्लाइटबाट कोरिया जाने छन् । त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो जानेछन् । उनी अगष्ट १ मा प्रतियोगितास्थल पुग्नेछन् ।

अगष्ट १८ देखि हुने सीपीएलमा सन्दीपले यस सिजन जमैका तल्लावाहजबाट खेल्नेछन् । प्रतियोगिताअघि सबै खेलाडी त्यहाँ पुगेर दुई साता क्वारेन्टिन बस्नुपर्नेछ ।

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् । यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ । ‘त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ’, लामिछानेले भने ।

सीपीएल खेल्न जानुअघि उनले मंगलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए । उनले परीक्षणको रिपोर्ट बुधबार प्राप्त गरेका थिए । ‘कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्कका साथ जान पाउने भएँ, लामिछानेले भने ।

‘उडान टुंगो नलागुन्जेल कैयौँ रात निद्रा भंग भयो’

चार महिना लामो लकडाउन अवधिमा पट्यारलाग्दो समय व्यतित गरेका सन्दिप सीपीएल खेल्न जान पाउँदा उत्साहित छन् । ‘हिजोसम्म सीपीएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो’, लामिछानेले भने, ‘आज जहाजको टुंगो लाग्यो, अब सीपीएल खेल्न उत्साहित छु ।’

जहाजको टुंगो नलागुन्जेल कैयौँ रात निद्रा नै भंग भएको सुनाउँदै उनले भने, ‘जे होस् अब जान पाइने भयो, अब खेल्ने पाइनेमा ढुक्क छु ।’

भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि छनोट भएको खबर उनले गत असार २२ गते पाएका थिए । आफूले मागेकै पारिश्रमिकमा खेल्न पाउने खबरले उनी कम्ता खुशी भएनन् । लामिछानेले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । जमैका तलावाजले उक्त रकममै लामिछानेलाई अनुबन्ध ग¥यो ।

यसअघि सन् २०१९ मा उनलाई बार्बाडोस ट्राइडेन्सले ७० हजार डलरमा अनुबन्ध गरेको थियो । उक्त प्रतियोगितामा लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सले मात्र पाँच हजार डलरमा लामिछानेलाई अनुबन्ध गरेको थियो । सो प्रतियोगितामा उनले छ खेलमा आठ विकेट लिएका थिए ।

आफूले चाहेकै पारिश्रमिक पाउने भएपछि लामिछानेलाई खुशी त मिल्यो तर यस्तो बन्दाबन्दीमा ट्रिनिडाड एन्ड टोबागो कसरी पुग्ने भन्ने चिन्ताले सतायो । नेपालमा अझै आगामी भदौ १ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान बन्द थियो । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएकाले लामिछाने सीपीएल गुमाउने अवस्था थियो । अन्तिम समयमा चार्टर्ड विमानमार्फत उनी बिहीबार दक्षिण कोरिया हुँदै ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो ।

लामिछानेको यात्रा सुनिश्चित गराउनमा उनका व्यवस्थापक रमन शिवाकोटीको भूमिका अहम् छ । शिवाकोटीको हप्तौँको दौडधूपले लामिछानेको ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो । ‘पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायतको सहयोगले सन्दीप खेल्न जाने टुंगो लागेको हो’, शिवाकोटीले भने । सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनको भनाइ थियो । ‘हाम्रो व्यक्तिगत प्रयासले सीपीएल खेल्न पाउने सम्भावना थिएन’, सहयोगीप्रति अभार प्रकट गर्दै व्यवस्थापक शिवाकोटीले भने ।

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ । सीपीएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

ट्रिनिडाड एन्ड टोबागोबाट लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानेछन् । कोरोना महामारीका कारण यसपटक आईपीएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएईमा हुँदैछ । लामिछाने आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । लामिछाने तेस्रोपटक आईपीएल खेल्न लाग्दैछन् । ‘अब चाँडै नेपाल फर्किने सम्भावना छैन, तर जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका खेल्छु’, लामिछानेले भने ।

त्रिवि खेल मैदानका कर्मचारीलाई एक लाख सहयोग

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त सहयोग घोषणा गरेका हुन् ।

‘कोरोना भाइरसको महामारीबीच पनि उहाँहरुले निकै मेहनत गरी मैदानलाई खेल्न लायक बनाउनुभयो’, लामिछानेले भने, ‘यसरी मैदान तयार नगरेको भए हामी खेल्नसक्ने थिएनौँ ।’

‘मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछ,’ उनले भने, ‘मैले सानो सहयोग गर्न खोजेको छु ।’ मैदानमा दिनरात खटिने कर्मचारीलाई भविष्यमा पनि आफ्नो सक्दो सहयोग जारी रहने उनको भनाइ थियो । हाल त्रिवि मैदानमा १४ कर्मचारीले काम गर्दै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्