banner

अन्तर्राष्ट्रिय

सैनिकको कब्जामा रहेका मालीका राष्ट्रपतिद्वारा राजीनामाको घोषणा

काठमाडौं, ३ भदौ – पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन् । सैनिकहरूको कब्जामा परेपछि उनले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ।

टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद्‍ पनि भङ्ग गरेको बताए । उनले भने, “म आफूलाई शक्तिमा राखिरहन रगत नबगोस् भन्ने चाहन्छु।”

बीबीसीका अनुसार उनको त्यस्तो घोषणा उनी र प्रधानमन्त्रीसहित अन्य अन्यलाई सैनिकहरूले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगिएपछि आएको हो। उक्त घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ।

यसअघि राष्ट्रपति इब्रहिम केयटालाई सैनिकले गिरफ्तार गरेको कुरा सरकारका एक जना प्रवक्ताले बीबीसीलाई पुष्टि गरेका थिए। ‘भाइचारा संवाद’ को निम्ति अपिल गरेपनि प्रधानमन्त्री बूबू सीशे पनि पक्राउ परेका छन्। उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बताइएको छ। जहाँ मङ्गलवार बिहान गोली चलेको आवाज सुनिएको थियो।

कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन्। उनीहरूलाई राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले खुसी प्रकट गर्दै स्वागत गरेका थिए।

त्यसपछि दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहीँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन्। गिरफ्तार गरिएका अन्यमा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ।

सो घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको ठानिएको बीबीसी संवाददाता अब्दुल बाले जनाएका छन्।

कति सैनिक विद्रोहमा सहभागी छन् र उनीहरूको माग के हो भन्ने स्पष्ट भएको छैन। केही समाचारहरूमा रकम भुक्तानी विवादले उक्त छाउनीमा विद्रोहको अवस्था सिर्जना गरेको उल्लेख छ।

बीबीसी संवाददाताहरूले उक्त घटना सैनिक कु नभएको देखिएको अधिकारीहरूलाई उद्धृत गर्दै जनाएका छन्। तर त्यो आठ वर्षअघिको घटनाको जस्तै परिदृत्य देखिएको छ। घटनापछि र्‍याली प्रदर्शन र लुटपाट पनि भएको बताइएको छ।

राजधानीमा युवाहरूले सरकारी स्वामित्वको एउटा भवनमा आगो लगाइदिएका छन्। माली बृहत् प्रदर्शनहरूका साथ महिनौँदेखि राजनीतिक भद्रगोलमा फसेको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटाको राजीनामा मागिरहेका थिए। एकजना धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा पछिल्ला महिनाहरूमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो। सैनिकहरूको समर्थनमा निकै सानो भिड मङ्गलवार राजधानीमा भेला भएको बताइएको छ।

केयटा दोस्रो कार्यकालको निम्ति सन् २०१८ को चुनावबाट निर्वाचित भएका हुन्। तर त्यहाँ भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, जिहादीका कारण बिग्रिँदै गएको सुरक्षा अवस्था र बढ्दो जातीय हिंसालाई लिएर व्यापक असन्तुष्टि छ। प्रदर्शनकारीहरूले त्यसको दोष राष्ट्रपतिमाथि लगाउने गरेका छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले घटनाको निन्दा गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनासर्त मुक्त गर्न आग्रह गरेका छन्। संवैधानिक व्यवस्था तत्काल पुनर्स्थापित गरिनुपर्ने उनको धारणा छ। पश्चिम अफ्रिकाको क्षेत्रीय सङ्गठन इकोनोमिक कमिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (एकोवास), अफ्रिकी सङ्घ र फ्रान्सले पनि विद्रोहको निन्दा गर्दै सैनिकहरूलाई छाउनीमा फर्किन आग्रह गरेका छन्।

मङ्गलवार गोली चलेको आवाज सुनिएपछि सैनिकहरू सडकमा गस्तीमा निस्किएका थिए एकोवासले मालीका सबै पक्षसँग महिनौँदेखि आफूले मध्यथताको अग्रसरता लिएको र गरिरहेका बेला विद्रोह भएको भन्दै विज्ञप्तिमार्फत् त्यस्तो आग्रह गरेको हो। त्यस्तै अपिल फ्रान्सका विदेशमन्त्रीले पनि गरेका छन्।

यसअघि बमाकोस्थित फ्रान्सेली राजदूतावासले ट्वीट गर्दै मानिसहरूलाई घरभित्रै रहन जोडदार रूपमा सल्लाह दिएको थियो। इस्लामिक लडाकुसँग भिड्न फ्रान्सको सैनिकको उपस्थिति मालीमा पनि छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्